ह्योल्मो समाज सेवा केन्द्र। ह्योल्मो जब्साङ देछेन होसाल गुम्बा

बौद्ध धर्ममा अटल आस्था र विश्वास राख्ने धार्मिक स्वभावका आदिवासी
ह्योल्मो जनजातिहरूको धर्म, संस्कृति, परम्परा तथा संस्कारको संरक्षण र
सम्बद्र्धन गर्ने उद्देश्यले ह्योल्मो समाज सेवा केन्द्र २०५० सालमा
जन्मिएको हो । बौद्ध धर्मको माध्यमबाट यो संसारमा रहेका सम्पूर्ण प्राणी
जगत्को उद्धारका लागि आवश्यक धार्मिक तथा सामाजिक क्रियाकलापहरू सञ्चालन
गर्न एउटा धार्मिक संस्थाको आवश्यकता थियो । त्यसैलाई सम्बोधन गर्न केन्द्रको स्थापना भयो ।
ह्योल्मो समाज सेवा केन्द्र एक गैरसरकारी संस्था हो । यस संस्थाबाट
आदिवासी जनजाति ह्योल्मोको विकासको निम्ति कार्यहरूको साथै बौद्ध धर्मसँग
सम्बन्धित विभिन्न पूजा पाठहरू ‘ह्योल्मो जब्साङ्ग देक्षेन होशाल
छ्योलिङ्ग’ गोन्पाबाट नियममित रूपमा सञ्चालित हुँदै आएको छ । यो केन्द्र
ह्योल्मो समुदायको एक चिनारी, इतिहास र भविष्यको केन्द्रविन्दु हुने
निश्चित छ । त्यसैले यसलाई जोगाइराख्न र क्रियाशील बनाउन सधैं तत्पर रहनु
हाम्रो कर्तव्य र दायित्व हुन आउँछ । ह्योल्मो जब्साङ देछेन होसाल गुम्बाको
नाम धर्म गुरु श्रद्धेय पेनोर रिम्बोछेज्यूले नवारण गर्नुभएको हो ।
ह्योल्मो जातिको परिचय
ईसाको ११ औं शताब्दीताका नेपालको लाङ्गटाङ्ग हिमशृङ्खलाका हिमाली
उपत्यकाहरूमा, ह्योल्मो सभ्यताको उदय र विकास भएको थियो । लगभग रसुवाको
सम्पूर्ण भूभागदेखि लिएर सिन्धुपाल्चोकको उत्तर, पश्चिमका अधिकांश भूभाग र
नुवाकोट जिल्लाको उत्तरी उच्च पहाडी भूभागहरू ह्योल्मो क्षेत्रअन्तर्गत
पर्दछ । बौद्घमार्गी ह्योल्मो जातिको ऐतिहासीक पृष्ठभूमिको अध्ययन गर्दा यस
ठाउँको ‘ह्योल्मो’ नामकरण यहाँको भौगोलिक स्वरूप तथा यस क्षेत्रको मुख्य
संरक्षक देवीको नामबाट राखिएको थियो । ‘ह्योल्मो’ शब्द धार्मिक ग्रन्थमा
उल्लेख भएअनुसार ‘ह्योल्’ र ‘मो’ मिली बनेको छ । जसअनुरूप ‘ह्योल्’को अर्थ
ज्योवो छ्यती, दोर्जे लेक्पा, छिरिङ् चेङा, गेन्येन लेरुजस्ता ह्योल्मो
जातिले मान्ने गरेका अति पवित्र हिमशृ्ङखलाहरूले आमा ज्योमो याङ्री देवी
विराजमान पर्वतलाई बीचमा पर्दा जसरी घेरिएको र ‘मो’ को अर्थ शक्ति सम्पन्न
संरक्षक आमा ज्योमो याङ्री देवीलाई बुझिन्छ । अर्थात्, यी पवित्र
हिमशृङ्खलाहरूले ह्योल्मो भूमिको संरक्षकको रूपमा रहेका करुणामयी आमा
ज्योमो याङ्री देवीलाई पर्दा जसरी घेरिएको भूमि भएकोले उहाँको सम्मान साथ
यस क्षेत्रको ‘ह्योल्मो’ नामकरण भएको पाइन्छ ।
यसरी नै बौद्घ धर्मका
एक प्रमुख देव गुरु रिम्पोचेले हिमाली गुफाहरूमा ध्यान, तपस्या गर्नुका
साथै भविष्यका निम्ति भनेर आफ्ना धार्मिक महत्त्वका महत्त्वपूर्ण पवित्र
तथा अमूल्य पुस्तकहरूका साथै अमूल्य सिद्घि युक्त निधि (तेर) हरू ह्योल्मो
क्षेत्रमा लुकाएर राखेको हुनाले यस क्षेत्रलाई ‘हिमाली शृङ्खलाको पवित्र
तीर्थ उपत्यका’ अर्थात् ‘नेछ्येन बेयुल ह्योल्मो गङ्ग्रा’को रूपमा पनि
विविध धर्म ग्रन्थहरूमा नामकरण भएको पाइन्छ । ह्योल्मो जातिको उत्पत्ति,
सभ्यताको विकास र विस्तारको सम्बन्धमा यसै आमा ज्योमो याङ्रीसँग ऐतिहासिक
सम्बन्ध रहेको छ । ह्योल्मो क्षेत्र, आफ्नै मौलिक संस्कार, संस्कृति र
सभ्यतामा हुर्केका ह्योल्मोली आदिवासीहरूको मूल बसोबासको थलो हो । जसलाई
स्थानीय रूपमा ह्योल्मो जाति मात्रै भनेर पनि सम्बोधन गरिन्छ ।
ह्योल्मो गोन्पाको निर्माण
यस ह्योल्मो जब्साङ देक्षेन होसल छ्योलिङ गुम्बा सम्पूर्ण ह्योल्मोहरूको
एकता र मिलनको केन्द्रका रूपमा रहेको छ । जसलाई ह्योल्मो किदुक छोक्पा
अर्थात् ह्योल्मो समाज सेवा केन्द्र नामकरण गरिएको छ । २०५१ सालमा स्थापित
यो गुम्बाको निर्माण हालै सम्पन्न भएको छ । सम्पूर्ण ह्योल्मो समुदायको
आफ्नै पहल र सहयोगबाट नै यस गोन्पाको निर्माण सफल भएको हो । यस गोन्पामा
ह्योल्मो समुदायका वार्षिक चाड पर्व र पूजा पाठहरू छेच्यु, ङयुङ्ने, बुद्ध
जयन्ती, मणिदुङग्युर, काँग्युर वाचन मनाइँदै आएको छ । वार्षिक रूपमा हुने
प्रत्येक कार्यक्रमको छुट्टाछुट्टै उपसमितिले व्यवस्थापन गरिँदै आइरहेको छ ।
‘ह्योल्मो जब्साङ देक्षेन होसल छोलिङ’ गोन्पाको निर्माण सम्पन्न गरी
‘श्रद्धेय गुरुहरू क्याप्चे ढुक्पा रिम्पोचे’ र ‘क्याप्चे ङावाङ तेन्जेन
रिम्पोचे’ज्यूबाट समुद्घाटन सम्पन्न गरिएको थियो । ह्योल्मो समुदायद्वारा
स्थापित ह्योल्मो समाज सेवा केन्द्रको मातहतमा गोन्पाको निर्माण सम्पन्न
भएको हो । हाल गोन्पामा साधारण र आजीवान सदस्य गरी जम्मा ६४५ जना सदस्यहरू
आबद्ध रहिसकेका छन् । हाल यस गोन्पाको कार्यसमिति अध्यक्षको रूपमा ग्याम्जो
स्याङबा ह्योल्मो हुनुहुन्छ भने कार्यसमितिका पदाधिकारी र विभिन्न
उपसमितिहरू गरी १५० जनाले केन्द्रको सञ्चालनमा सहयोग पुर्याइरहेका छन् ।
गोन्पामा के छ ?
कुनै बाहिरी सहयोगमा नअल्झी आफ्नै आन्तारिक
स्रोतबाट बनेको नमुना गोन्पा/सामुदायिक भवनको रूपमा रहेको छ । सामाजिक
कार्यहरू जस्तै विवाह, मृत्यू र ह्योल्मो समुदायको चाडपर्वमा समुदायका
सबैले यसको उपयोग गर्न पाउँछन् । गोन्पाको छुट्टै भव्य भवन छ भने व्यवस्थित
चर्पीको साथै ढल व्यवस्थापनको पनि व्यवस्था छ । अरू ह्योल्मो तथा बौद्ध
धर्मसँग सम्बन्धित संघ संस्थासँग यसको राम्रो सम्बन्ध रहेको छ ।
गाउँमा
मानिने चाडपर्व तथा पूजाआजालाई यसले निरन्तरता दिँदै आएको छ । यसले
युवादेखि वृद्धवृद्धासम्मलाई ओगट्न सफल भएको छ । यहाँ विभिन्न सामाजिक
कार्य हुनुका साथै अरूलाई रक्तदान कार्यक्रमका लागि नि:शुल्क हल उपलब्ध
गराइन्छ । विभिन्न ठाउँ छरिएर बसेका ह्योल्मोहरूलाई यसले ठाउँमा एकीकृत
गरेको छ । हाल कम्तीमा ६४५ घरधुरी ह्योल्मोहरू १५० वटा जति गाउँबाट एकीकृत
भएका छन् । ह्योल्मो जातिको परम्परागत, सांस्कृतिक, जातीय, ऐतिहासिक
पहिचानलाई सोधखोज र संरक्षण गर्ने कार्य गरेको छ ।
के छन् त भावी योजना ?
१) सुव्यवस्थित पाहुना घर निर्माण गर्ने
२) राम्रो/फराकिलो पार्किङ स्थल बनाउने
३) शिक्षा क्षेत्रमा (जस्तै : छात्रवृत्ति) लगानी गर्ने
४) बौद्ध धर्मको पुस्तकालय र संग्रहालयको स्थापना गर्ने
५) ह्योल्मो भाषामा पुस्तक प्रकाशन, धार्मिक विद्यालय स्थापना गर्ने
६) बुद्ध तपस्या (ल्होसुम, दासुम, स्यासुम) गर्न जानेलाई सहयोग गर्ने
७) स्वास्थ्य चौकी निर्माण गर्ने
ह्योल्मो क्षेत्र बौद्ध धर्म ग्रन्थहरूमा उल्लेख भएअनुसार अत्यन्त पवित्र र
महत्त्वपूर्ण क्षेत्रको रूपमा लिइन्छ । बौद्ध ग्रन्थहरूमा यसलाई नेछ्येन
बेयुल ह्योल्मो गाङग्रा अर्थात् हिमाली शृंखलाहरूको उपत्यका भनी सम्बोधन
गरिएको पाइन्छ । विशुद्ध बौद्धमार्गी रहेको ह्योल्मो समुदायले महायाना
बौद्ध परम्परालाई अनुशरण गर्दछन् । बुद्ध धर्मको रीतिरिवाजअनुसार संस्कृति र
सभ्यताको संरक्षण संवद्र्धन गर्दै सामाजिक तथा परोपकार कार्यहरू गर्ने यस
विधानअनुरूप केन्द्रलाई सञ्चालन गरिने भएको छ ।
(क) असहाय पीडित, कमजोर, असमर्थ, बुद्ध धर्मावलम्बीहरूलाई सहयोग गर्ने ।
(ख)बुद्ध धर्ममा आस्था राख्ने जो कोही परलोक भएका व्यक्तिहरूको धार्मिक
प्रक्रियाअनुसार लास सदगत तथा काजकिरिया गर्ने गराउने व्यवस्था मिलाउने र
वैवाहिक सम्बन्धका कार्यहरू गर्ने गराउने ।
(ग)बुद्ध धर्मावलम्बीहरूको जन्म, व्रतबन्ध, विवाहजस्ता सामाजिक कार्यका लागि आवश्यक व्यवस्था गरिदिने ।
(घ)बिरामी तथा असक्षम व्यक्तिहरूको स्वास्थ्य सुविधा तथा रेखदेखको व्यवस्था गरिदिने ।
(ङ)धर्मगुरु, अवतारी तथा अन्य लामाहरूबाट पूजा पाठ र प्रवचन गर्ने व्यवस्था मिलाउने ।
(च)यस्तै उद्देश्यले गठन भएका अन्य संस्थाहरूको सहयोग लिने दिने ।
(छ)सम्बन्धित निकायको स्वीकृति लिई गुम्बाहरूको निर्माण तथा मर्मत गर्ने ।
(ज)शान्ति सहिष्णुताजस्ता बुद्ध धर्मका उपदेशहरू पालन गर्ने गराउने ।
(झ)बुद्ध धर्मको शिक्षा दीक्षा दिलाउने व्यवस्था गर्ने ।
युवा पिँढीलाई हस्तान्तरण गर्नुपर्छ
दावा लामा ह्योल्मो
संस्थापक अध्यक्ष
ह्योल्मो समाज सेवा केन्द्र
२०५० सालतिरको कुरा हो । ह्योल्मो समुदायले चाबहिलस्थित शेर्पा समुदायको
गोन्पामा बुद्ध जयन्ती मान्ने गथ्र्यो । त्यसपछि हामी आफ्नै धार्मिक संगठन
बनाउनेतिर लाग्यौं । गोन्पा निर्माण गर्नका लागि तदर्थ समिति गठन गरी सहयोग
उठायौं । हामीले पहिलो दिनमै ह्योल्मो समुदायबाट १७ लाखसम्म सहयोग पैसा
उठाएका थियौं ।
सहयोग रकम उठेपछि हामी केही समयमै जग्गा किनी गोन्पा
निर्माणतिर लाग्यांंै । ०५१ साल वैशाखमा दुई रोपनी जग्गा किनियो । संस्था
दर्ता थिएन त्यसैले अध्यक्षको हैसियतले पदादिकारीहरूको सल्लाहमा मेरो
व्यक्तिगत नाममा जग्गा किनेका थियौं । संस्था दर्ता भएपछि केही समयमा
ह्योल्मो सेवा समाज केन्द्रको नाममा दर्ता गराएर हामी पुन: जग्गा थप्ने काम
भयो । गोन्पा निर्माणका लागि सहयोग र साथ पनि भरपूर पाइयो ।
२०५२
सालमा पूर्ण रूपमा संस्था दर्ता भयो । पर्खालका लागि मेरो बुबाले र अन्य
व्यक्तिहरू इँटा दिने काम गरे । १ वर्षको कार्यकालपछि साधारणसभा गरी हामीले
एउटा कटेरो बनाई गोन्पाको निर्माण गरेका हौं । निर्माणको सुरुवातमा धेरै
ठाउँबाट भौतिक सहयोगहरू आए । हामीलाई यी भौतिक सामग्रीले थप हौसला प्रदान
गर्यो । मलाई गर्व थियो गोन्पा निर्माण सफल बनाउन सकेकोमा । अहिले यही नै
ठूलो धर्म गरेको जस्तो लाग्छ । अझै सल्लाहकारका नाताले गोन्पा निर्माणका
निम्ति सल्लाह–सुझाव दिई सफल बनाउने योजना रहेको छ ।
२०५४ पछि मैले
केसाङ लामा ह्योल्मोलाई नेतृत्व हस्तान्तरण गरेको थिएँ । उहाँले पनि
सफलतापूर्वक गोन्पाको निर्माण कार्य अगाडि बढाउनुभयो । मलाई अहिले पनि
ह्योल्मो समुदायले सम्मान गर्ने गरेको छ । यो नै मेरो सेवा हो र धर्म पनि
हो । अब गोन्पा निर्माण पूर्णरूपमा सम्पन्न भएपछि नयाँ पिँढीका शिक्षित
युवा भाइबहिनीलाई जिम्मा लगाउने योजना छ । यो नै ह्योल्मो समुदायको पहिचान
हुनेछ भन्ने बुझुन् अहिलेको पुस्ताले ।
ठूला चुनौती पार गरियो
केसाङ लामा ह्योल्मो
अध्यक्ष (दोस्रो, तेस्रो र चौंथो कार्यकाल
ह्योल्मो समाजको परम्पराअनुसार मृत्यु संस्कार गर्नलाई नभई नहुने भएकाले
समुदायका सबै मिलेर गोन्पा निर्माणको पहल भएको हो । २०५० सालअघि हाम्रो
समुदायको कुनै धार्मिक संस्था थिएन । गोन्पा नहुँदा ह्योल्मो समुदायको
मान्छे मरिसकेपछि ठूलो समस्या पथ्र्यो । हामीले शेर्पा गोन्पातिर लिएर जाने
गथ्र्यौं । तर त्यहाँ पनि ठाउँ नपाउने समस्याले गर्दा हामी बाध्यतावश
आफ्नो समुदायको गोन्पा निर्माणतिर लागेका हौं ।
सुरुवातमा आर्थिक
संकलन गर्ने काम त्यति सजिलो थिएन । विभिन्न चुनौतीको सामना गर्दै हामीले
काम गर्दै आयौं । सदस्य संख्या पनि थोरै थियो । काम गर्न कठिनाइ रहेको थियो
। हाम्रो समुदायले नै मुस्किलले पत्याउने गर्थे । विश्वासका आधार कमैमात्र
थिए । हामी सबै गोन्पाका पदाधिकारीहरूले आत्मबल दह्रो बनाएर यो गोन्पा
निर्माणमा सफलता पाएका छौं । गोन्पा निर्माण गर्न हामीले जहाँ जहाँ
ह्योल्मो समुदाय छरिएर बसेका छन्, त्यहाँ संस्थाबाट शुभकामना कार्ड छापेर
पठाई सहयोग जुटाउने कामहरू गर्यौं । मेरो कार्यकालको नौ वर्षको दौरानमा २८
लाखसम्म जुटाइयो । अहिले धेरै कामहरू सम्पन्न भइसकेको छ । म त्यसैमा खुसी
छु ।
संस्थापक पदाधिकारीहरूले गोन्पाको जग बसालिदिनुभएको थियो । मेरो
कार्यकालमा संस्थामा पैसा थिएन । काम गर्न धेरै गाह्रो थियो । मैले पैसा
भएका व्यक्तिहरूसँग सापटी गरेर समेत गोन्पा निर्माण कार्य रोक्न नदिई अघि
बढाएँ । मैले यो संस्था तीन कार्यकालसम्म चलाएँ । मैले ह्योल्मो समाजको १२
वर्ष सेवा गरेँे । हाम्रो समाज अशिक्षित र रुढीवादी थियो । त्यसैले पनि
मेरो पालामा यो गोन्पाको निर्माण गर्न धेरै दु:ख भयो । गोन्पाको निर्माण
कार्य लगभग ४० प्रतिशत सकिएको थियो । आफ्नो कार्यकालपछि नयाँ कार्यसमितिलाई
हस्तान्तरण गरेर म पूर्णरूपमा धर्मकर्ममा लागेको छु ।
गोन्पा बनाउन शेर्पाले सिकाए
दावा दोर्जे लामा ह्योल्मो
अध्यक्ष (पाँचौं र छैटौं कार्यकाल)
म काठमाडौं प्रवेश गर्ने सिलसिलामा एकजना भतिजको मृत्यु भएको थियो ।
हामीले दहसंस्कार गर्नुभन्दा अगाडि ३ दिनदेखि ११ दिनसम्म राख्ने
प्रचलनअनुसार पूजापाठ तथा काजकिरिया गर्नुपर्ने हुन्थ्यो । हाम्रो जाति
शेर्पा जातिसँग मिल्ने भएकाले पहिला शेर्पा गुम्बा लगेर पूजापाठ र
काजकिरिया गरी दाहसंस्कार गर्ने चलन थियो । केही समयमा शेर्पा गुम्बाले
हामीलाई लास र बिहेवारीजस्ता कार्य गर्न दिएन । नदिनुको कारण थियो, शेर्पा
जातिकै तीन चारजनाको हुन्थ्यो । नदिएपश्चात् हामी अर्को विकल्प सोच्न बाध्य
भएका थियौं । अहिले त्यो शेर्पालाई भेट्न पाए म खादा लगाएर स्वागत गर्थें ।
किनकि हामीलाई गोन्पा निर्माण गर्न उनीहरूले नै सिकाइदिएको हो । त्यसैपछि
हामीले केही समयमै गुम्बा बनाउने काम सुरु गर्यौं ।
मैले नै गोन्पाको
पहल गरेको हुँ । दुई कार्यकालका साथीहरूले जग्गा किन्ने र जग बसाल्ने काम
गरे । त्यस क्रममा रङ्गरोगन अधुरै थियो । हामीले ऋण गरेर त्यस कार्यलाई पनि
निरन्तर दिँदै गयौं । गोन्पा निर्माण सफल पार्यौं । गोन्पाको आसपासमा
मैले चारघरे टोलमा दसफिटे बाटो बनाइदिएको छु । टोल सुधारका लागि अहिले
हामीले गोन्पाको बैंकमा रहेको रकमको ब्याजले ज्याला दिई सफाइ गर्ने गरेका
छौं । ह्योल्मोको पहिचानका निम्ति पनि मैले यो गोन्पा सफल पारेको हुँ ।
गोन्पाको रब्ने मेरै पालमा गरेको हो । १८ देखि २० लाखसम्म ऋण काढेर काम
सुरु गरेको थिएँ । मलाई लाग्थ्यो यो काम सजिलैसँग सफल बन्नेछ भन्ने । मलाई
सम्पूर्ण ह्योल्मोले साथ पनि दियो । त्यसैले पनि गोन्पा निर्माण सफल बनाउन
सकियो ।
९५ प्रतिशत काम भइसक्यो
ग्याम्जो लामा ह्योल्मो
बहालवाला अध्यक्ष (सातौं कार्यसमिति)
विगतमा झैं मेरो कार्यकालमा पनि ह्योल्मो समाज सेवा केन्द्रलाई निरन्तर
अघि बढाउनेछु । अहिले ह्योल्मो गोन्पामा लगभग ९५ प्रतिशत काम भइसकेको छ ।
यद्यपि अझै धेरै काम गर्न बाँकी रहेको महसुस हुन्छ । मेरो कार्यकालमा मैले
गोन्पा नजिकै भएको जग्गा मिल्यो भने ह्योल्मो समुदायमा सहयोग जुटाई
पार्किङको व्यवस्था गर्ने योजना छ । अझ गोन्पामा कसरी राष्ट्रिय तथा
अन्तर्राष्ट्रिय ह्योल्मो समुदायलाई समेट्ने र ह्योल्मो समुदायलाई एकै रथका
पाङ्ग्रा बनाउने भन्नेतिर लागेको छु ।
पहिलाको तुलनामा अहिले
गोन्पामा ह्योल्मो सदस्यहरू बढ्दै छन् । काम गर्नलाई अलिक सहज भइरहेको छ ।
विगतका दु:ख सुख बाँड्ने ठाउँ पनि भएकाले यो केन्द्रको निर्माण भई काम सफल
भएकोमा खुसी छौं । आफ्नो पहिचान जोगाउनका लागि पनि अहिले धेरै ठाउँबाट
अवसरहरू मिलिरहेको छ । विगतका भन्दा अहिले ह्योल्मो समुदाय विभिन्न
क्षेत्रमा समावेश भई आफ्नो पहिचान दिलाउने ठाउँसम्म पुगेको छ । समाजमा केही
अप्ठ्यारा काम तथा समाजप्रति सेवा गर्नुपर्ने अवस्था आइपरे सहयोग गर्नेछु ।